ट्वान्टी-२० विश्वकप अघिको दुवै अभ्यास खेलमा नेपाल विजयी
काठमाडौं,२२ माघ । ट्वान्टी-२० विश्वकप अघिको दुवै अभ्यास खेलमा नेपाल विजयी भएको छ । आसिफ शेखको आक्रामक ब्याटिङमा क्यानडालाई हराउँदै नेपालले विश्वकपको अघि अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले नेपाललाई १६२ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङमा १२ बल बाँकी छँदै नेपालले ४ विकेटको क्षतिमा टार्गेट पूरा गरेको हो ।
नेपालका लागि आसिफ शेखले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन बनाए । त्यस्तै सन्दीप जोराले ४ चौका र १ छक्काको मद्दतमा ३० बलमा ४४ रन बनाए । गुलशन झाले नटआउट ३१ रन बनाए ।
क्यानडाका लागि जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्दालले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले ४१ रन बनाए । त्यस्तै श्रेयस मोवाले ३८ रन बनाउँदा जसकरण सिंहले २१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २र२ विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले १र१ विकेट लिए ।
यसअघि नेपालले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो अभ्यास खेलमा मंगलबार यूएईलाई सजिलै ७ विकेटले पराजित गरेको थियो।
तेस्रो पटक विश्वकप खेलेको नेपालले अभ्यास खेल नै जितेको यो पहिलो अवसर हो । २०१४ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा बंगलादेशमा नेपाललाई अभ्यास खेलमा आयरल्यान्डले ५ विकेट र यूएईले ६ विकेटले पराजित गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्