उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले निगरानी गर्ने
काठमाडौं,२२ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारी राखी निगरानी गर्ने भएको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायाण प्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राख्ने जानकारी दिएका हुन् ।
‘अहिले कुन व्यक्तिले, कुन संस्थाले सोसल मिडियामा कति खर्च गर्यो भनेर हेर्न गाह्रो छैन । प्रावधिक रुपमा हामी सहजै हेर्न सक्छौं’, भट्टराई भन्छन्, ‘उहाँहरुले सोसल मिडियामा गरेको खर्चलाई पनि निर्वाचनको खर्चको सीमा छ, त्यो सीमाभित्र रह्यो कि रहेन भनेर हेर्छौं ।’
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ । उम्मेदवारका लागि ठाउँ अनुसार खर्चको सीमा तोकिएको छ ।
निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो ।
काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।















प्रतिक्रिया दिनुहोस्