साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध झिनो जित
काठमडौं, १९ माघ । साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध २–१ को साँघुरो जित निकालेको छ । सोमबार च्याम्पियनसिपअन्तर्गत पोखरा रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन संगीता बडुवाल र प्रजिता राईले समान एक गोल गरे । भुटानकी सोनाम छोडेनले गोल गरे पनि टोलीको हार टार्न सकिनन् ।
संगीताले खेलको ३६औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ७०औँ मिनेटमा प्रजिताले अग्रतालाई दोब्बर बनाइन् । ८७औँ मिनेटमा भुटानकी छोडेनले टोलीको निम्ति एक गोल फर्काइन् । तर, उनको यो गोल टोलीको निम्ति खेलमा फर्कन पर्याप्त थिएन ।
यो जितसँगै नेपालले प्रतियोगितामा फाइनल सम्भावना कायम राखेको छ । नेपालले प्रतियोगितामा तीन अंक बनाएको हो । नेपालले तीनमध्ये दुई खेल खेल्दा समान एक जित र हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
अब नेपालले बंगलादेशसँग खेल्न बाँकी छ । पराजित भुटान भने हारसँगै प्रतियोगिता दौडबाट बाहिरिएको छ ।
सोमबारै भएको पहिलो खेलमा भारतविरुद्ध २–० को जित निकाल्दै साविक विजेता बंगलादेश साफ यू–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ । बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास र अल्पी अख्तरले १–१ गोल गरे । खेलको २९औँ मिनेटमा अर्पिताको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ४०औँ मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन् ।
लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको भारतको समान खेलबाट तीन अंक छ ।















प्रतिक्रिया दिनुहोस्