आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाही प्रक्रिया सुरु
काठमाडौं, १६ माघ । निर्वाचनको सन्दर्भमा विभिन्न अभिव्यत्ति, भ्रामक सूचना पनि प्रवाह भईरहेको छ । निर्वाचन आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले ३०२ वटा वटा मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको पहिचान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न निर्वाचन आयोगमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको छ । यो केन्द्र अन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाई क्रियाशील छ ।
आयोग प्रवक्ता भट्टराइैले भनेका छन्, ‘सो इकाइले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।’
सहसचिव भट्टराईका अनुसार कतिपय सूचना तथा अभिव्यक्ति साइबर ब्युरो, कतिपय आचारसंहिता केन्द्रीय अनुगमन समिति, कतिपय प्रेस काउन्सिल र कतिपय विज्ञानपन बोर्डमा पठाइएको छ ।
आयोगका अनुसार कारबाहीका क्रममा त्यस्ता सूचना तथा अभिव्यक्ति हटाइनेछ ।
निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्