सुन तथा चाँदीको मूल्य निरन्तर बढने क्रममा

काठमाडौँ, १२ माघ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुन तथा चाँदीको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । केही दिनदेखि ती वस्तुको मूल्य निरन्तर बढ्ने क्रममा छ । सोमबार नयाँ रेकर्ड बनाउदै सुन प्रतितोला पाँच हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा दुई सय ८५ रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौँ हजार रुपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बजारमा चाँदी प्रतितोला ६ हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा दुई सय ८५ रुपैयाँ बढेको हो ।

लामो समयदेखि सुन चाँदी व्यवसाय गर्दै आउनु भएका नेभिलाल श्रेष्ठले विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्व तथा डलरको विनिमय कमजोर बन्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य वृद्धि भएको बताउँदै त्यसको प्रभावस्वरुप लगानीकर्ताले सुन तथा चाँदीमा लगानी सुरक्षित देखेकाले मूल्यले नयाँ उचाई कायम गरेको विचार व्यक्त गर्नुभयो । यो क्रम कहिलेसम्म चल्ने हो त्यो बताउन नसकिने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्