वार्ता मिलेसँगै नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । लगानीकर्ताको आन्दोलनका कारण ढिला गरी कारोबार शुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से )दुई अंकको वृद्धि भएको छ । तत्काललाई पुरानै विधिबाट कर निर्धारण गर्ने विषयमा अर्थ मन्त्रालय र लगानीकर्ताबीच सहमति भएपछि बुधबार ढिला गरी कारोबार खुलेको हो ।

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार नेप्सेमा कारोबार ठप्प भएको थियो । बुधबार नेप्से १३ दशमलव ९१ अंकको वृद्धिसँगै समग्र परिसूचक १२८२ दशमलव ७५ अंकको बिन्दूमा पुगेको छ । कारोबार खुलेदेखि तीव्र वृद्धि भएको नेप्से त्यसपछि क्रमशः ओरालो लागेको थियो । यस दिन कारोबारमा आएका समूहमध्ये अन्य समूहमा मात्रै गिरावट आएको छ । बाँकी सबै समूह वृद्धि भएको छ । सबैभन्दा धेरै बीमा समूह १४४ दशमलव ९९ अंकले वृद्धि हुँदै अग्रस्थानमा छ । करिब डेढ दिन कारोबार रोकँदा लगानीकर्ता अन्योलता छाएको थियो । विहान नेपाल धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए ।

लगानीकर्तालाई अर्थ मन्त्रालयले बोलाएर वार्ता गरेको थियो । वार्ता सकारात्मक भएसँगै कारोबार सुचारु भएको थियो । लगानीकर्ताले कारोबार रोकेर सरकारलाई दबाब सिर्जना गरेका थिए । बुधबार करिब दुई घण्टामात्रै भएको कारोबारमा ।४ लाख ९७ हजार ५९२ कित्ता शेयर २३ करोड ८९ लाख ३ हजार ३४४ रुपैयाँ कारोबार भएको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६९ अंकका साथ वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्