बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए, देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं, ९ माघ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो । उनले आजै वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिनेछन् ।
गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।
‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ ।
‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ बाबुरामले थप प्रष्ट पार्दै भने, ‘तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो ।’
सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने उनको भनाइ छ ।
‘मैले जीवनभरिको जुन अभिष्ट हो, संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था हो । चुनौती थपिएका छन्, तीनको व्यवस्थापन गर्नुछ,’ उनले भनेका छन्, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु ।’
उनलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आग्रह गरेको थियो ।
रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यसअघिको निर्वाचनमा पनि सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ पराजित भएका थिए ।
गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा बाबुराम भट्टराई, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन् ।




प्रतिक्रिया दिनुहोस्