अत्यधिक गर्मी बढ्दै जनजीवन अस्तव्यस्त, समय मै सतर्कता हुन आवश्यक

काठमाडौं । अत्यधिक गर्मी बढ्दै जाँदा तराईका मानिसको जनजीवन अतिव्यस्त हुँदै गएको छ ।
धनुषासहित मध्य तथा पूर्वी तराईमा पछिल्लो चार–पाँच दिनदेखि बढेदै गएको अत्यधिक गर्मीले गर्दा जनजीवन अस्तव्यस्त हुँदै गएको हो ।

वायुमण्डल सफा रहँदा सूर्यको किरणले जीउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम विज्ञान भिागले जनाएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न गर्दे गएको ।

अत्यधिक गर्मी बढ्दै जाँदा बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । वायुमण्डलीय तापक्रम बढी रहँदा मंगलबार जनकपुरको तापक्रम यस सिजनकै सबैभन्दा बढी ३८.८ डिग्री सेल्सियस मापन गरिएको छ । गत वर्ष २०७४ को असारमा जनकपुरमा पछिल्लो पाँच वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराईका जिल्लामा अझै केही साता तापक्रम बढ्ने क्रममा रहेको जनाउनुभयो । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्किने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् ।

नियमित विद्युत् आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् । छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ । उनीहरु पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाउँछन् ।

नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भएपनि पछिल्लो एक सातादेखि पानी परेको छैन । गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी समस्या ग्रस्थ हुन बाध्य हुनेछन् । यसका लागि समयमा नै सतर्कता नअपनाए लु लागेर ज्यानै जान सक्ने सम्भावना भएकाले यसप्रति सर्वसाधरण तथा राज्यले पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्