चौथो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनको समापन
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले आर्थिक उदारीकरणलाई सफल बनाउन सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
चौथो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनको समापन समारोहमा उहाँले निजी क्षेत्रले व्यावसायिक प्रतिस्पर्धा, क्षमता विकास, लगानीकर्तासँगको सहकार्य औद्योगिक विकासमा ध्यान दिनुपर्नेमा बताउँदै उहाँले सरकारले बलियो कानुनी व्यवस्थाका साथ आवश्यक पूर्वाधार विकास तथा संरचना निर्माणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
उपाध्यक्ष श्रेष्ठले आर्थिक उदारीकरण सार्थक बनाउन निजी क्षेत्रको स्वामित्व अर्थतन्त्रमा स्थापित गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सकिने बताउँदै निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारी खर्च वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालजस्ता विकासोन्मुख देशमा औद्योगिक विकासका लागि सिपयुक्त जनशक्ति कमि हुने भएकाले उत्पादन र वितरण लागत उच्च हुने समस्या रहेको बताउँदै त्यसले उत्पादित वस्तु तथा सेवा प्रतिस्पर्धी बन्न नसक्ने चुनौति रहेको उल्लेख गर्नुभयो। उहाँले आर्थिक कुटनीति प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
सम्मेलनका संयोजक डा रेशम थापाले सन् १९९० को दशकमा शुरु भएको आर्थिक उदारीकरणले शुरुमा राम्रो प्रभाव पारेको भएपनि सुशासन प्रवर्धनकाका लागि भ्रष्टाचार न्यूनीकरण, कर प्रशासन अपेक्षाकृत सुधार बन्न नसकेको बताउँदै अब पूँजीको उदारिकरणतर्फ सहज वातावरण बनाउनुपर्ने बताउनुभयो।
आइतबारदेखि काठमाडौँमा शुरु भएको दुई दिवसीय सम्मेलनमा नेपाल सहित पाँच वटा मुलुकका अर्थविद्हरुले ४० वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए।















प्रतिक्रिया दिनुहोस्