जुफालको छाया दुनैको माया (नियात्रा)

– खगेन्द्र गिरि ‘कोपिला’

-नेपालगञ्ज उपमहानगरपालिका ०१,बाके

पुगेका हौं हामी एकाबिहानै राँझा बिमानस्थल । ‘बिहान पाँच बजेभन्दा अगाडि नै आइपुग्नु होला’ भन्दै उर्दी जारी गरेका थिए हिजो ट्राभल्सवालाले । पहाडतिर जाँदा प्लेनको टिकट नपाउने, पाइहाले पनि प्लेन नउडेर यात्रुले दुःख पाएका कथा धेरै सुनिएका हुन् तर हामीलाई त्यस्तो केही व्यहोर्नु परेन । आठ हजार आठ सय चालिस रुपियाँ पेश्की लगेर पनि भोलिपल्ट तीन हजार नौ सय पन्चानब्बे रुपियाँको टिकट थमाएर बाँकी पैसा फिर्ता पाइयो । सहुलियत दरमा मिलाई दिएछन् । हामीले सहुलियत नमागेर पनि । जय होस् ट्राभल्सवाला पुष्करजीको !आधा घण्टा विमानस्थलको गेटमा उभिएपछि बल्ल साढे पाँच बजे तिर खुल्यो गेट । ग्वागर््वार्ती भित्र पसे यात्रुहरु । बिहानबिहानै भेडाबाख्राजस्तै दुगुर्ने यो हुल कोही जुफाल, कोही ताल्चा, कोही सिमीकोट त कोही जुम्ला उड्ने यात्रुहरुको हो । हाम्रो गन्तव्य जुफाल हो । कर्णाली प्रदेशका यी चार ओटा विमानस्थलमा एकाबिहानै दुई तीन ओटा ट्रिप उडान गरिन्छ । नौ दश बजेपछि हावाको तीव्र वेगका कारणले उडान गर्न सकिदो रहेन छ । कहिलेकाहीं त बिहान सूर्योदयसंगै हावा चलेर उडान रद्द भैदिन्छन् ।

“ मुटु छ र त सास छ
मन छ र त आश छ
सुखदुःखका साथिजस्तै
जीवन छ र त प्यास छ ।”

आकाशमा बादल देखियो र पानी पर्यो भने झन् जोखिम ! तैपनि यी जोखिममय हवाई उडानले कर्णालीको जनजीवनलाई वर्षौदेखि रक्तसञ्चार गरिरहेका छन् ।होहल्ला, हतार र अस्तव्यस्तताका साथ यात्रुको नामाङ्कन र सरसामान चेकजाँच भएपछि साढे छ बजेतिर जहाजहरु उड्न थाले । ओहो.. एअरलाइन्सहरु पनि कति धेरै हुन्? सबैको आआफ्नै पोशाक, आआफ्नै चिन्ह र पृथकपृथक रङ्ग । सीता, बुद्ध, सौर्य, तारा, श्री, सिम्रिक, मकालु, गोमा, माउण्टेन नामका एअरलाइन्सका सानासाना प्लेनहरु पङ्क्तिबद्ध भएका छन् उड्नको लागि । हाम्रो प्लेन चैं समिट एअरलाइन्सको परेछ  । एअरहोस्टेजले मन नलागिनलागि नमस्ते गरिन् । उनको रुखो नमस्ते स्वीकारेर फर्काउन पनि मन लागेन । यात्रुहरु जता पायो उतै बसे । रामचन्द्र आचार्य सर अलि अगाडिको लहरमा पर्नु भो म परेँ अन्तिम लहरमा । बाइस सिटे प्लेनका पाँच सिट खाली छन् । खाली सिटमाथि र तल भुईँभरी सामानहरु कोचिएका छन् ।

यात्रुवाहक जहाजभन्दा पनि यो मालवाहक जहाज हो कि जस्तो लाग्यो । आखिर व्यापार गर्नु न हो जे बोकेर भए पनि । कपडाको खोल च्यातिएका जहाजका सिट हल्लिरहेका छन् । भित्ताका रङ्ग उप्किएका छन् । नट बोल्ट खुकुलो भएर ट्याङट्याङ बज्न थाल्यो झ्याल । मर्मत र सरसफाईमा ध्यान नदिएको पाइयो । एअरहोस्टेजको झर्कोफर्को झन् उस्तै वितृष्णा जगाउने खालको । नेपाली आकाशको यात्रा ! के हो? कसो हो? मनमनै सम्झिएँ भगवानलाई ।जे होस् यतातिर जहाज उड्नु नै ठुलो कुरो मानिन्छ । सेवा र सुबिधाको तालमेल नमिलेको यो सन्दर्भलाई यत्तिकै थाँती राखेर म पनि झ्याल बाहिर आँखा डुलाउन लागेँ । आँखामा ठोक्किन लागे पहाडका विचित्रका भूदृश्यहरु । सल्यान र रुकुमका हरिया डाँडाकाँडा माथि उडिरहँदा रोमाञ्चित भएर आयो मन ।

बिहानपखको न्यानो घाममा मुसुक्क मुस्कुराइरहेको छ जुफाल । उत्तर फर्किएको सानो टारमा टाङ् फिंजाएर पल्टेको छ जुफाल विमानस्थल । चौबिस सय मिटरको उचाइमा अवस्थित छ जुफाल । यसैको जुम्ल्याहा भाइजस्तो लाग्ने माझफालको उँचाई झन् बढी नै होला ।”

भेरी नदीलाई आधार बनाएर माथिमाथि उडिरहेको छ जहाज । डोल्पा शुरु भएपछि अग्लाअग्ला चट्टाने भीर देखिन थाले । एक ठाउँमा त भीरको निकै नजिकबाट उड्यो जहाज । झ्यालबाट हात लम्कायो भने भेटिएला जस्तो छ ठाडो भीर । उत्तर दिशा गरेर उडिरहेको प्लेन पूर्व मोडियो । उँचाई लिंदा र दिशा मोड्ने बेला प्लेनले घच्याक्घुचुक ग¥यो भने हंशले ठाउँ छोड्दो रहेछ । पैतिस मिनेटको उडानभर सबै यात्रुका आँखामा आशंका र भयको छाया पढिरहेँ । सूर्यको प्रकाश नपुगेका कुना, कन्दरा, खोंच, नदीका चेपहरु अझैं सुतिरहेका छन् निंद्रामा । उज्यालो र अँध्यारोको यही लुकामारीका पछाडि जीवनसंघर्षका धुमिल छायाहरु पढें । कोप्चे पहाडको बीचैबीच घुम्दैफिर्दै उडिरहेको जहाज जुफालमा उत्रिएपछि निर्र्भय भयो मन ।

बिहानपखको न्यानो घाममा मुसुक्क मुस्कुराइरहेको छ जुफाल । उत्तर फर्किएको सानो टारमा टाङ् फिंजाएर पल्टेको छ जुफाल विमानस्थल । चौबिस सय मिटरको उचाइमा अवस्थित छ जुफाल । यसैको जुम्ल्याहा भाइजस्तो लाग्ने माझफालको उँचाई झन् बढी नै होला । नेपालगंज फोन लगाउन खोज्यौं लागेन । दिउँसोको घाममा प्लेन नचल्ने विहानको समयमा फोन नलाग्ने । विज्ञानले आफ्नै किसिमले सुविधा दिएको छ र सुविधाका पछाडि असुविधा पनि थपिदिएको छ ।मानिस र सरसामान छरपष्ट देखिए भुइँमा । अस्तव्यस्त छ वातावरण । लगालग आधा दर्जन जति जहाज उत्रिए र उडे । जहाज उडेसंगै मानिसको चहलपहल पनि एकैछिनमा हरायो । एअरपोर्ट वरिपरि घुचुमुच्च घर देखिए । प्रायः घरहरु स्थानिय मौलिक शैलीका छन् । एअरपोर्टको गेट बाहिर निस्किदा फोहोर र दर्गन्धसंग नमिठो साक्षात्कार भयो । उज्यालो मुस्कान बोकेर उभिएका छन् गेटैमा प्रकाश खत्री । हाँसेर स्वागत गरे । बिरानो ठाउँमा उनको आत्मियताले पग्लियौं हामी । ओरालो लाग्यौं उनकै पछिपछि । ‘जति हतार हुन्छ जुफाल आउने प्लेनको त्यस्तै हतार हुन्छ दुनै जाने जीपको’ प्रकाश हामीलाई छिटोछिटो हिडाउन खोज्दै छन् । हाम्रो गन्तव्य हो दुनै । दश मिनेट जति ओरालो झरेपछि हामी पुग्यौं अर्को टारमा । यो जुफालको जीप, घोडा र खच्चरको बिसौनी रहेछ । घोडा, खच्चरका लिदीले दुर्गन्धित । प्रकाशले जीपको अगाडिपट्टिका तीनवटा सिट मिलाए । एकैछिनमा खाँदाखाँद गरेर मान्छे भरिएपछि जीप ओरालो लाग्यो । साँगुरो घुमाउरो ओरालो बाटो । ढलीमली गर्दै जीप हिड्न लाग्यो । तराईको कच्चि बाटोभन्दा पनि बढी उड्दो रहेछ यो बाटोमा धुलो । जीपचालक मोती चौधरीको घर बर्दिया रहेछ । थारु भाषामा कुरा गर्न थालेँ म उनीसित । मसित थारु भाषामा कुरा गर्न संकोच मानेँ उनले । ‘मनरखनी बनाइलो कि नाइँ?’ यस प्रश्नले भने मजाले हँसायो उनलाई ।मेरो आँखा वरपरका भूदृश्यमा घुम्न थाले । ढुङ्गैढुङ्गा र माटोको साम्राज्य छ चारैतिर । जुफालपट्टिको डाँडोमा कतैकतै हरियाली देखिएपनि पारिपट्टिको डाँडो भने एकदमै उजाड र सुख्खा छ । मरुभूमिको एउटा टुक्रा यही पहाडमा आएर पोखिएजस्तो ।ओरालोमा अलि तल झरेपछि हरियालीले भरिएको एउटा गाउँ आयो । ‘डाँगीबाडा भनेको यही हो सर’ प्रकाशले परिचय दिए । कलकल गरेर बगिरहेको छ कुलो । तरकारी खेतीले सजिएका छन् गह्राहरु बाटो वरपर । के हुँदो रहेनछ र मानिसले गरेपछि ।

गाउँ देखियो माथिपट्टिको भिरालो ठाउँमा । छतबिहिन छन् घरहरु  । एउटा घरको छत अर्को घरको आँगन बनेको छ । एकआपसमा जोडिएका जस्ता छन् सबै घर । खण्डखण्ड पारेर बाँडिएजस्तो लाग्छ एउटै घरलाई । सामाजिक बन्धनको अटुट नमूना । डाँगीबाडा तलबाट हेर्दा निकै रमाइलो लाग्यो । मरुभूमिको बीचमा भेटिएको हरियो चौरजस्तो लाग्यो यो गाउँ । मोतीपुर र पारंग नामका साना गाउँ काटेर कालागौडा पुगेपछि बाटोले ठूलीभेरीको किनार भेट्यो । बाटोको छेउछाउमा देखिन थाले हिमाली पीपल र बैंसका रुख । विपरित दिशामा बगिरहेको छ नदी । एकैछिनमा पुग्यौं रुपगाड हुँदै सुलिगाड । एउटा सुन्दर गुम्बा र गुम्बाजस्तै कलात्मक द्वारले मौन भाषामा स्वागत ग¥यो सुलिगाडमा हाम्रो । ऊँ मणि पद्मे हुम् मनमनै उच्चारण गरेर श्रद्धार्पण गरे बुद्ध भगवानलाई । गुम्बा र द्वारका भित्ताहरु कुरुप पारिएको छ राजनैतिक पार्टीका नाराहरु लेखेर । मन कुँडिएर आयो धार्मिक आस्था र साँस्कृतिक महत्वका सम्पदामा राजनितिक पार्टीका कार्यकर्ताले गरेको यो उपद्रव देखेर । दुनै बजारका रुपौला दृश्यहरु आँखामा ठोक्किन लागे धुपिचौर पुग्दै गर्दा । निकैबेर कुद्यौं ठूलीभेरी नदीको किनारैकिनारै धुले बाटोमा । जुफालबाट हिडेको डेड घण्टामा पुग्यौं दुनै । स्वर्गीय राजा वीरेन्द्रको क्षतविक्षत सालिक उभिएको चोकनेर ओराल्यो जीपले । ढुङ्गे सालिक, ढुङ्गे बाटो, ढुङ्गे पेटी, ढुङ्गे घर, ढुङ्गै ढुङ्गाका रासहरु छन् जताततै । कुनै ढुङ्गे युगको ढुङ्गे बस्तीमा पुगेजस्तो आभास भयो ।

हामी प्रकाशकै पछिपछि लुरुलुरु कृषि विकास बैंकको अतिथिगृहमा पुग्यौं । ओंठभरी मायालु मुस्कान बोकेर स्वागतार्थ उभिनु भएको छ गोरख बहादुर बुढ्थापा । जीवराज बम र मदन माझीको आत्मियता पनि मुस्कुरायो मुसुक्क हाँसो बनेर ।नदीको वारिपारि फैलिएका साँगुरा फाँटमा पिंmजिएको छ दुनैको बस्ती । दायाँबायाँ उभिएका अग्ला ढुङ्गे पहाडले थिचिएझैं, निसास्सिएझैं, उकुसुमुकस भएझैं लाग्छ । दिउँसो बारह बजेपछि चल्ने तिब्र गतिको बतासले पनि यो उकुसुमुकुसलाई भगाउन सक्दो रहेनछ । नदीको साँगुरो बगर र पहाडको गहिरो कोप्चोमा बसेको दुनैको उचाई भने समुद्र सतहबाट एक्काइस सय मिटर रहेछ । ठूलीभेरीको वारिपारिका साँगुरा बगरमा अटेसमेटस भएर कोच्चिएका छन् ढुङ्गे घरहरु । ठूलाठूला भवनमा जिल्लास्तरिय कार्यालय, सानासाना घरहरु जति पसलैपसल । बगरको छेउछाउ हिमाली पीपल, बैंस र बकैनँुका पातला रुखले हरियो देखिए पनि माथिमाथिका अजङ्गका नाङ्गा पहाडले घेरिएको दुनै निकै सुख्खा र उजाड लाग्छ ।पुराना साथी भेटिए जयकृष्ण हमाल । ‘दुनोको आकारजस्तो उपत्यका भएकोले दुनै नाम रहेको हो रे’ यसको नामाकरणको इतिहास खोतले साथिले । ‘तलबाट आएको कुनै पनि बस्तुको मूल्य यहाँ पुगेपछि दुना हुने भएकोले यसको नाम दुनै रहेको हो पनि भनिन्छ’ प्रकाशले अर्को कथा थपे ।बिहानको घाममा यौवन भरिदै जाँदा दुनै पनि आफ्नो दैनिक कर्ममा डुब्यो  । कहाँबाट शुरु गरौं म दुनैको कथा खोतल्न? यहाँका मान्छेले वर्षौदेखि साँचेका अधुरा सपनाहरुलाई उप्काउन पाएको भए कस्ताकस्ता जीवन्त कथाहरु लेखिन्थ्यो होला दुनैमा । त्यो जिम्मा रामचन्द्र सरलाई थमाएर दुनैको सतहमा बग्न थालेँ म । ठूली भेरीको वारिपट्टि सरकारी कार्यालय र बजारका कारण जति चहलपहल छ त्यसको दाँजोमा पारिपट्टि सुनसान लाग्छ । दुईओटा झोलुङ्गे पुलले जोडेका छन् दुनैका दुईटा बगरलाई । धुपिचौरबाट धुलो उडाउँदै आउँदै गरेको जीप देखेर उत्साहित हुन्छ दुनै ।

बिहान साढे चार बजे नै जुफाल जाने यात्रुलाई बोकेर जीप हर्न बजाउँदै कुद्ने तरखर गर्दा दुनैको निद्रा खलबलिन्छ । घोडा र खच्चर हिन्हिनाएका आवाजहरु कति सुन्यो कति दुनैले । जिन्दाबाद र मुर्दाबादका नारा पनि घन्किरहे बेलाबेला दुनैमा तर वारिपारिका अग्ला डाँडामा ठोक्किएर ती आवाज यतै फर्केर आए, यतै हराए । यहाँका मान्छेका रहरजस्तै ती नारा पनि यहीँको सुख्खा परिवेशमा बिलाए । माओबादी युद्धताका दुनैमा भएको सैन्य आक्रमणका चोट, घाउ र निशानीहरु बेलाबेला बल्झिरहन्छन् । डोल्पामा गरिब छन् तर भिखारी छैनन् । हुने खानेहरुमा भने लुकिलुकि माथिबाट मागेर खाने बानी बसिसकेको छ । हुँदा खानेहरु भने आफ्नो स्वाभिमानमा अडिएकै छन् । खोला पारिको गुम्बा र बजारको मुखैनिरको मन्दिरले आफ्नो मौनतालाई त्यागेका छैनन् तर धर्म परिवर्तनको झोला बोकेर प्रभुुका चेलाहरु दुनै पुगिसकेका छन् । एनजिओ संस्कृतिको नयाँ रुप सेकुवा र वियरमा अनुवाद भएको छ ।म यहाँ आएदेखि नै पारिपट्टिको पाखोमा देखिने दुईटा कलात्मक गुम्बाका आकृतिले मलाई तानिरहेका छन् । एकदिन साँझपख जु¥यो त्यहाँसम्म पुग्ने साइँत । बगरैनिर भूत बंगलाजस्तो कैदीगृहको छेवैछेउ अलिकति उकालो चढेपछि तल्लो गुम्बाको प्राङ्गणमा पुग्यौं । यो निङ्मा सम्प्रदाय र माथिल्लो गुम्बा बोन्पो सम्प्रदायका रहेछन् । ढुङ्गे पर्खालले घेरिएको फराकिलो आँगन, मिलेर उभिएका बोट बिरुवा र ध्यानस्थ मुद्राका बुद्ध मुर्तीहरुले छुट्टै आकर्षण पस्किए । यहाँको वातावरण शान्त छ, सफा छ, प्राञ्जल छ । गुम्बाको छत, बरण्डा र वरपर टाँगिएका छन् रंगीबिरंगी लुङ्दर र धाच्र्योकहरु । सबैमा साना ठूला अक्षरले मन्त्र लेखिएका छन् । लुङ्दर र धाच्र्योकहरुमा लेखिएका मन्त्र या त विघ्ननाशक हुन्छन् या त मुक्तिप्रदायक हुन्छन् भन्ने मान्यता छ ।

यस्ता लुङ्दर र धाच्र्योकहरुमा ऊँ मणिपद्येहुम् र ऊँ वज्रकिलिकिलय सर्वविघ्न नाशय हुम् फट भन्ने मन्त्र लेखिएका हुन्छन् । पहिलो मन्त्रले मुक्ति प्रदान गर्छ र पछिल्लो मन्त्रले बाधा विघ्नहरु नाश गर्छ भन्ने मान्यता छ । तेर्सो गरी टाँगिएका धजालाई धाच्र्योक र ठाडो गरी टाँगिएका धजालाई लुङ्दर भनिन्छ । शैवतन्त्रमा ऊँ नमः शिवाय मन्त्रको जुन महत्व छ, बौद्धतन्त्रमा ऊँ मणिपद्येहुम् मन्त्रको त्यही महत्व हुन्छ । शिवको शिवत्व र बुद्धको बुद्धत्व एउटै हो । दुइटै भगवानहरु ध्यान, करुणा र मुक्तिको मार्ग सिकाउँछन् ।सूर्यास्त भैसकेपछिको रिमरिमे उज्यालोमा ओरालो झर्न लाग्यौं हामी । दुनैका अग्लाअग्ला डाँडाहरुलाई हुरीले छोप्दै ल्यायो । ‘तीब्र गतिमा चलिरहेको हावालाई हुरीमा बदलिन र हुरीलाई हिमपातमा बदलिन बेर लाग्दैन यहाँ’ जयकृष्ण हमालले प्रकृतिको निर्ममताको बखान गरेपछि दौडियौं हामी । एकैछिनमा प¥यो दर्किने पानी । सुख्खा पहाडहरुले रहर पु¥याएर नुहाए । ‘आज त मज्जाको पानी प¥यो’ रमाए जयकृष्ण र प्रकाश पनि । हुरी बतास जति चले पनि वर्षात कम हुने हिमाली भेगका बासिन्दाहरु यदाकदा आकाश रोइदिंदा बिछट्टै खुसी हुँदा रहेछन् ।

वर्षातको चिस्यानले दुनैको यो रात हाम्रा लागि झनै चिसो भएर आयो । सतहमा आँखा दौडाएर हेर्दा सुख्खा माटोका थुप्राजस्ता लाग्ने डोल्पाका पहाडहरु दुई संस्कृति र दुई सभ्यतालाई आफ्ना जुम्ल्याहा सन्तानजस्तै छातीमा सजाएर मुस्कुराउँदै उभिएका छन् ।

भूगोलको विकटता र अर्थोपार्जनका उपायहरुको सिमितताले गरिब देखिने डोल्पा बिशाल साँस्कृतिक सम्पदाका कारणले निकै समृद्ध देखिन्छ । दुनैमा बिताएका तीन दिन र तीन रातहरुले यहाँको चञ्चले मौसमको बदलिइरहने बानीसंग अभ्यस्त हुन सिकाए । छिनछिनमा मौसम बदलिरहन्छ यहाँ । कतिखेर तेजिलो घाम त कतिखेर तेज गतिको हावाले डोल्पाली पाखाहरुलाई स्पर्श गरिरहन्छन् । कहिलेकाहीँ झुक्किएर आइपुग्ने वर्षातले हिमपात गराएर चट्टाने पहाडभरी हिमानी थुपारेर जान्छ । यहाँको मौसस निकै विषम भए पनि निकै समृद्ध छ यहाँको संस्कृति । डोल्पामा हिन्दु र बौद्धको भेद देखिएन । आर्य र मङ्गोलको बिभाजन भेटिएन । दुबै संस्कृतिका मूल्यमान्यताहरुलाई डोल्पालीहरुले समान रुपमा आत्मसात गरेका छन् ।

हिन्दु देवताका माडुँ तथा कोट र बौद्धहरुका गुम्बाहरुमा समान रुपले सबैको आस्था पोखिन्छ । अनुहारले मंगोलजस्तो लाग्ने मान्छेको परिचय माग्यो भने ऊ ठकुरी र क्षेत्री थरको हुन्छ । अनुहारले बाहुनजस्तो देखिइरहेको मान्छेसंग परिचय ग¥यो भने उसको थर गुरुङ या लामा हुन्छ । जोसंग परिचय ग¥यो उसैले झुक्क्यारह्यो मलाई । मान्छेका अनुहारजस्तै यहाँ मानिसका विश्वास, प्रथा, चालचलन र रिथिथितिहरु पनि एकैएकै छन् । श्रम, संघर्ष र जिजिविषाका कथाहरु पनि उस्तैउस्तै छन् । डोल्पाली समाजको अन्तरघुलन नेपालीपनको साझा परिचयजस्तो लागिरह्यो मलाई । पातला छन् बस्ती, पातलै बोट, बिरुवा, थुम्का र चट्टानमा टेको लगाएर उभिएका पहाड, क्षणक्षण बदलिने दृश्य, सफा हिमाल, सफा आकाश, सफा मन, घना छ धुलो र माटो, तर निर्दयी छ बतास । गनेर साध्य छैन थुम, थुम्का र चुचुराहरु । जताततै देखिन्छन् शिरचुली, हिमचुली, देवचुली, बनचुली, थुमचुलीका लहरहरु ।

प्रत्येक बिहानको पहिलो घाम सर्वप्रथम चुम्न आइपुग्छ यी चुलीहरुलाई । प्रत्येक साँझको चिसो बतासको पहिलो चुम्बन भेट्टाउँछन् यी चुलीहरुले । चुली—चुलीका लहरहरुभरि पिंmजिएको पहेँलो घामसंगै फिजिएँ म पनि । घामको पहेंलो रङ्गले रंगिएका पहरा, लहरा र छहरासंग रंगिए म पनि । हुन त कठोर संघर्ष, परिश्रम, कष्ट र विपन्नताका छायाहरुले हरेक मान्छेलाई लखेटिरहेकोदेख्न पाइन्छ डोल्पामा । तैपनि जीवनलाई चलाइरहने आशा, सपना र समृद्धिको प्यास पनि हरेक मान्छेका आँखा छल्किरहेको भेटिन्छ । दुनैमा बसुन्जेल सम्झिरहेँ आफ्नै पुरानो मुक्तक र आश्वस्त भैरहेँ डोल्पाको सुदूर भविष्यप्रति

मुटु छ र त सास छ
मन छ र त आश छ
सुखदुःखका साथिजस्तै
जीवन छ र त प्यास छ ।

प्रतिक्रिया दिनुहोस्