लघुवित्त कम्पनीलाई मर्जरमा लैजान प्रोत्साहन गर्दै राष्ट्र बैंक

काठमाडौं । अब वित्तीय कम्पनीहरू मर्जरमा लैजाने पालो लघुवित्त कम्पनीको आएको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई मर्जरमा लैजान प्रोत्साहन गर्ने भएको छ । लघुवित्त कम्पनीहरू धेरै भएकाले यी कम्पनीहरूलाई मर्जर लैजान प्रोत्साहन गर्ने प्रक्रिया अघि बढेको राष्ट्र बैंकले स्रोतले जानकारी दिएको छ ।
लघुवित्त कम्पनीहरू मर्ज हुँदा कम्पनी आफैमा बलियो बन्नुका साथै कार्य कुशलतामा पनि विशिष्टीकरण हुने हुने राष्ट्र बैंकको भनाइ छ । साथै राष्ट्र बैंकमा लाइसेन्सका लागि लाइनमा बसेका माइक्रोफाइनान्सलाई आवश्यकता अनुसार काम कारवाही अघि बढाउने नीति राष्ट्र बैंकले लिने भएको छ ।

हाल लघुवित्त कम्पनीहरुमा बहुकर्जाको समस्या रहेकाले खराब कर्जा बढी देखिएको छ । अब लघुवित्तका सदस्यहरूले बढीमा तीनवटा लघुवित्त संस्थाबाट ५ लाख रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था गर्ने भएको छ । बिना धितो कर्जाको सीमा भन्दा बढि ऋण एउटै व्यक्तिलाई दिन नपाउने व्यवस्था अघि सारिने भएको छ । लघुवित्त कम्पनीहरूले एउटा वडामा तीन वटा सम्ममात्र शाखा खोल्न नपाउने व्यवस्था गर्न लागेको छ ।

आगामी आवको बजेटले लघुवित्त कम्पनीलाई प्राथमिकताका साथ राखेकोले यस विषयमा राष्ट्र बैंकमा छलफल शुरु भएको छ । कर्जामा प्रवाहमा दोहोरोपना भएको अर्थात लघुवित्तको मर्म र भावना विपरित पहुँचवालाले यसको सुविधा पाएको भन्दै धेरै पटक राष्ट्र बैंकले यस विषयमा टिका टिप्पणी गर्दै विभिन्न निर्देशन दिदै आएको छ । जथाभावी कर्जा बढ्दा लघुवित्त कम्पनीहरुको खराब कर्जाको हिस्सा पनि केही मात्रमा बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

हाल नेपालमा ६३ वटा लघुवित्त संस्थाहरू संचालनमा रहेका छन् । यसका करिब २१ सय शाखा तथा संजालहरू रहेका छन् । लघुवित्तमा आवद्ध २६ लाखमध्ये ९९ प्रतिशत महिला रहेका छन् । १७ लाख भन्दा सदस्यलाई कम्पनीले एक खर्ब २७ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ । लघुवित्त कम्पनीका पुँजीको मुख्य आधार भनेको बैंकहरूले उपलब्ध गराउने विपन्न वर्ग कर्जा हो । हाल बैंकहरूले करिब ७५ अर्ब जति लघुवित्तमा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्