‘भेरी पम्पिङ खाने पानी आयोजना’ को सम्भाव्यता अध्ययन, डिपीआरको काम अन्तिम चरणमा
सुख्खा क्षेत्र खाने पानी तथा सरसफाई आयोजनाअन्तर्गत जलवायू अनुकुलन परियोजनाको टोली सुर्खेत आएर उक्त आयोजनाको सम्भाव्यता अध्ययन गरेको हो । विज्ञसहितको सम्भाव्यता अध्ययन टोलीले आयोजनाको पानी संकलन केन्द्र (ईनटेक) झुप्रा खोला र भेरीको दोभानमा बनाउन उपयुक्त हुने निश्कर्ष निकालेको छ ।
वातावरणीय तथा भौगोलिक अध्ययनका आधारमा पानीको मुख्य संकलन केन्द्र उक्त ठाउँमा राख्न उपयुक्त हुने निश्कर्ष निकालिएको हो । अध्ययन अनुसार संकलन केन्द्रको करिब २ सय मिटर माथिको डाँडामा पानी प्रशोधन केन्द्र निर्माण गरिने छ । त्यसपछि वीरेन्द्रनगर उपत्यकाको पूर्वी छेउमा पर्ने अमृत डाँडामा वितरण केन्द्र (ईनटेक) निर्माण गरी उपत्यकामा पानी वितरण गरिने छ ।
आयोजनाअन्तर्गत भेरीबाट लिफ्टमार्फत् ३६० लिटर (प्रति सेकेण्ड) पानी वितरण केन्द्रमा झारेर उपत्यकावासीलाई खाने पानी आपूर्ति गराउने योजना रहेको छ ।
त्यसमध्ये पहिलो चरणमा भने १३० लिटर प्रति सकेण्ड पानी वितरण केन्द्रसम्म झार्ने योजना रहेको र त्यपछि मागका आधारमा विभिन्न चरणमा पानीको मात्रा बढाउने जलवायु अनुकुलन परियोजनाका आयोजना प्रमुख शंकरमणी ज्ञवालीले जानकारी दिए ।
फास्ट ट्र्याकमार्फत निर्माण हुने भएकाले आयोजना निर्माणका क्रममा बजेटको कुनै समस्या नपर्ने उनले बताए । आगामी एकसय बर्षभन्दा पछिसम्म पनि कुनै त्रुटी नआउने गरि प्राविधिक रुपमा आयोजनाको काम गर्नेगरि अध्ययन भैरहेको समेत उनले बताए । आयोजना प्रमुख ज्ञवालीले अबको ५/६ महिनाभित्रै आयोजनाको काम शुरु हुने बताए ।
सुर्खेत उपत्यकामा हाल दैनिक ४५ लाख लिटर बढी पानी अपुग रहेको उपत्यकामा खाने पानी वितरण गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था’ले जनाएको छ । जनसंख्या बृद्धिलाई आधार मन्दा अबको १५ बर्षपछि ३ करोड १० लाख लिटरभन्दा धेरै खाने पानीको माग बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्