दुई छोरासहित पत्नी एक सातादेखि सम्पर्कविहीन

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् ।

विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताए ।

‘आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीको सहयोग मागेका छौं,’ पुनले भने ।

विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएईमा छन् । खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय दरवाङमा निवेदनसमेत दिइएको छ ।

परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन् । दरवाङबाट काठमाडौं जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन् । बेनीबाटै कहाँ गएको भन्नेबारेमा कुनै जानकारी नभएको आफन्तको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्