अब,कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक हरेक शनिबार बस्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री शनिबार पनि काम गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारको आईतवार बसेको मन्त्रीपरिषद् बैठकले हरेक शनिबार मन्त्रीपरिषद् बैठक बस्ने निर्णय गरेको हो । शनिबार बिदाको दिनलाई समेत उपयोग गर्दै हरेक शनिबार मन्त्रीपरिषद् बैठक बस्ने निर्णय गरिएको सरकारकी प्रवक्ता विमला केसीले बताईन् । ‘सरकारका मन्त्रीहरू नै जनताको अधिकतम सेवामा लाग्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रीपरिषद्ले नियमित बैठक शनिबार बिदाको दिन बस्ने निर्णय गरेको हो,’ उनले भनिन् । आईतवारको मन्त्रीपरिषद् बैठकले गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, जिल्ला सभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका २०७५ स्वीकृत गर्ने तथा प्रदेश सार्वजनिक व्यवस्था तथा सञ्चालन सम्बन्धी विधेयक २०७५, प्रदेश विद्युत् विकास, उत्पादन र व्यवस्थापन सम्बन्धी विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयक २०७५ को मस्यौदा तर्जुमाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्