गृहमन्त्री र वनमन्त्रीद्वारा सडकमा गाडीको छड्के जाँच

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आइतबार बिहान थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के जाँच गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दुवै मन्त्री सडकमै पुगेर प्रदूषण जाँचमा सहभागी हुनुभएको हो ।

कर्मचारीसँगै दुवै मन्त्रीले गाडीको प्रदुषण जाँच गर्नुभएको थियो । जाँचका क्रममा प्रदुषण मापदण्डा पालना नगर्ने १८ वटा गाडी कारबाहीमा परेका ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिनुभयो ।

त्यस क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो । सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित जाँच गर्नुपर्ने उहाँले बताउनुभयो ।

वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजनाअन्तर्गत थापाथलीमा कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवर्द्दनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उहाँको भनाइ छ

प्रतिक्रिया दिनुहोस्