अत्याधिक चिसो बढेपछि हिमाली जिल्लाका प्रहरी चौकी सदरमुकाम सारिए
काठमाडौं,१४ कार्तिक । हिमपातसँगै चिसो बढेपछि कर्णाली प्रदेशका तीन हिमाली जिल्लाका नौ वटा प्रहरी कार्यालय सदरमुकाम सारिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसएसपी केदार खनालले हिमाली क्षेत्रमा चिसो र हिउँ पर्न सुरु भएपछि सदरमुकामा प्रहरी चौकी स्थानान्तरण सुरु भएको बताए ।
उनका अनुसार डोल्पाका सात, हुम्लाको एक र मुगुको एक वटा प्रहरी चौकी स्थानान्तरण सुरु भएको हो । ‘हिमपात र चिसो बढेपछि हिमाली भेगमा रहेका प्रहरी चौकी पायक पर्ने स्थानमा सार्न सुरु गरेका छौं,। हिमाल क्षेत्रका बस्तीमा यतिबेला मानिस पनि नबस्ने भएकाले सुरक्षाका लागि खटिएका प्रहरी सदरमुकाममा फिर्ता बोलाइएका छौं ।
हुम्लाको नाम्खा–६ का तिल, हल्जी र जाँङको सुरक्षाका खटिएको प्रहरी टोली सिमकोट आइपुगेको छ । मानिसहरुको आवतजावत नभएपछि प्रहरी चौकीमा रासनपानीको व्यवस्था गर्नसमेत कठिन हुन्छ । हिमाली क्षेत्रका चौकी अब एकैपटक जेठतिर फर्किन्छन्, प्रवक्ता खनालले भने ।
त्यसैगरि, उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी पनि सदरमुकाम दुनैमा सार्न सुरु गरिएको छ । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका क्षेत्रमा रहेका प्रहरीहरु सदरमुकाम झर्ने भएका हुन् । हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका चौकीलाई सुरक्षित र पायक पर्ने प्रहरी कार्यालयमा सारिएको हो ।















प्रतिक्रिया दिनुहोस्