राष्ट्र बैंकबाट विदा भए डा. गुणाकर भट्ट
काठमाडौं,९ कार्तिक । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट विदा भएका छन् । उनी राष्ट्र बैंकबाट अनिवार्य अवकाशमा विदा भएका हुन् ।
राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार कार्यकारी निर्देशक पदमा सात वर्षे कार्यकाल पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कात्तिक ५ गतेबाट राष्ट्र बैंकबाट विदा भएका हुन् ।
वि।सं २०५७ सालमा सहायक निर्देशकका रुपमा राष्ट्र बैंकमा प्रवेश गरेका उनले राष्ट्र बैंकमा साढे दुई दशक सेवा गरे । उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेका थिए ।
उनले राष्ट्र बैंकको प्रवक्तासँगै आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभाग लगायतको नेतृत्व गरेर आफ्नो क्षमता देखाएका छन् ।
एक काविल अर्थशास्त्री र अनुभवी थिंकट्यांकका रुपमा आफूलाई चिनाएका भट्टको घर सुदूरपश्चिम हो । उनी राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धामा पनि लागेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् ।
भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्।















प्रतिक्रिया दिनुहोस्