बोक्सी भन्दै राधालाई निर्घात कुटपिट गर्ने भोले बाबालाई ५ वर्ष कैद

काठमाडौ । बोक्सीको आरोप लगाउँदै युवतीलाई निर्घात कुटपिट गर्ने कैलालीका भोले बाबा भनिने राम बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी ५ वर्ष कैद र एक लाख रुपियाँ जरिवानाको फैसला गरेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीले गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन गाउँकै राधा चौधरीलाई बोक्सीको आरोप लगाउदै चरम यातना दिएका थिए ।

रामबहादुर उर्फ भोले बाबाका सहयोगीहरुलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।

अदालतले पार्वती भनिने किस्मती चौधरीविरुद्ध पनि एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । किस्मतीले पनि राधालाई  कुटपिट गरेकी थिइन् । यसैगरी, अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार रुपिया जरिवाना सुनाइएको छ । उनीहरुले सोही दिन हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

रामबहादुरको सहयोगीकै रुपमा पक्राउ परेका अन्य तीन जनाले भने सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र राम बहादुरकी आमा सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।

पीडित राधा चौधरीले भने कैलाली जिल्ला अदालतले गरेको फैसलाप्रति चित्त नबुझेको भन्दै आफूलाई कुनै पनि जानकारी नगराएर दोषीलाई कम सजाय दिने वा उम्काउने नियतका साथ गुपचुपमा फैसला गरेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्