शिखर इन्स्योरेन्सले साढे १९% ले बढायो व्यापार
काठमाडौं,२९ असोज । शिखर इन्स्योरेन्सले आफ्नो व्यापार साढे १९ प्रतिशतले बढाउन सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोजको दोस्रो हप्तासम्ममा कम्पनीले १ अर्ब २३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । अघिल्लो वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १९.५८ प्रतिशतले बढेको छ ।
कम्पनीको मुख्य व्यापार मोटर बीमातर्फ देखिएको छ । मोटर बीमातर्फ कम्पनीले समीक्षा अवधिसम्म ४३ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष असोज ९ गतेसम्म कम्पनीले मोटर बीमामार्फत ३७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
यसैगरी चालु आर्थिक वर्षको असोज ९ गतेसम्म कम्पनीले सम्पत्ति बीमातर्फ ३२ करोड २६ लाख रुपैयाँ, विविधतर्फ १८ करोड ५ लाख रुपैयाँ र कृषितर्फ १० करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सम्पत्ति बीमाको व्यापार २१ प्रतिशत र विविधको २७.४९ प्रतिशतले बढ्दा कृषिको भने १३.५४ प्रतिशतले घटेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म इन्जिनियरिङ बीमातर्फ ८ करोड ८६ लाख रुपैयाँ, समुद्री बीमातर्फ ७ करोड ५१ लाख रुपैयाँ, हवाई बीमातर्फ २ करोड ७३ लाख रुपैयाँ र लघु बीमातर्फ १ लाख रुपैयाँको व्यापार भित्र्याएको छ । कम्पनीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा इन्जिनियरिङ बीमाको व्यापार ४३.४३ प्रतिशत र हवाई बीमाको ३४५.६१ प्रतिशतले बढ्दा लघुको व्यापार ६४.०६ प्रतिशतले घटेको छ ।















प्रतिक्रिया दिनुहोस्