पूँजीबजार समस्या अध्ययन गर्न अर्थमन्त्रीद्वारा गठित कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं,९ आश्विन । पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको ४ सदस्य कार्यदलले आज प्रतिवेदन बुझाएको छ। अर्थमन्त्री खनाललाई आज बिहान उक्त प्रतिवेदन बुझाएको हो।
शुक्रवार अर्थमन्त्री खनालले नेपाल धितोपत्र बोर्डको कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्य रहेको कार्यदल गठन गरेका थिए।
जेनजी आन्दोलनपश्चात् एक हप्ताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको शेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले तत्कालै शेयर बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरेका थिए।
पूँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नु पर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्य योजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको थियो।
कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यादेश रहेको थियो। सोही कारण आजै कार्यदलले प्रतिवेदन बुझाएको हो। अर्थमन्त्री खनालले मन्त्री स्तरीय निर्णय मार्फत उक्त कार्यदल गठन गरेका थिए।
कार्यदलमा सेबोनका केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका थिए । निरौलालाई कार्यदलको सदस्य सचिव तोकिएको थियो।
कार्यदलले बुझाएको प्रतिवेदन अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित गर्ने अर्थ मन्त्रालयको योजना छ।















प्रतिक्रिया दिनुहोस्