गभर्नरलाई भेटेर सेयर लगानीकर्ताले बुझाए ६ बुँदे सुझाव

काठमाडौं,५ असोज । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर सेयर बजारको सुधार गर्न ध्यानाकर्षण पत्र बुझाएका छन् ।

देशमा जेनजी आन्दोलनका कारण बन्द गरिएको बजार पर्याप्त तयारी नगरी खोल्दा ठूलो गिरावट आएको लगानीकर्ताको गुनासो छ । १० दिनपछि गत बिहीबार बजार खुल्दा नेप्से परिसूचक तीनपल्ट नकारात्मक सर्किट लागेर ६ प्रतिशत घटेको थियो ।

वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियारसहित, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फूलेल, नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्कीले आइतबार गभर्नरलाई भेटेर ६ बुँदै सुझाव पेस गरेका हुन् ।

लगानीकर्ताले राखेका माग मध्ये बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिने, व्यक्तिगत सेयर धितो कर्जाको सीमा पूर्ण रुपमा हटाउनुपर्ने, लघुवित्तले २५ प्रतिशतभन्दा बढी नाफा वितरण गर्न नपाउने नियम खारेज गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा लगानी गर्ने सीमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ ले गरेको व्यवस्था लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई प्रवाह गर्ने कर्जा पुँजी बजारसँग तुलना गर्दा निकै पुरानो भएकोले समयसापेक्ष गर्नुपर्ने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउनुपर्ने लगायत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्