विद्याथीमा मास हिस्टेरियाको समस्या देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिम । रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय गरिएको छ ।

बाँफिकोट गाउँपालिका–१, लगिमको जनएकता आधारभूत विद्यालयका विद्यार्थी एक्कासि मुर्छा पर्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले केही दिनयता २० जान भन्दा बढी विद्यार्थी बिरामी परेको बताए ।

उनले अन्य विद्यार्थीहरु समेत बिरामी पर्ने डरले विद्यालय बन्द गर्नुपरेको जानकारी दिए। उनका अनुसार पढ्दै गरेका विद्यार्थीहरु एक्कासि मुर्छा पर्ने, ब्यूँझिएपछि विद्यार्थीहरुको टाउको र हातखुट्टा दुख्ने, रिँगाटा लाग्ने र रुने जस्ता लक्षण देखिने गरेका छन् ।

मंगलबार र बुधबार मात्रै करिब २० जना विद्यार्थीको उपचार भएको विद्यालयले जनाएको छ । स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मीले २ दिन बिरामी विद्यार्थीको उपचार गरेका छन् । मंगलबार र बुधबार विद्यालयमै पुगेर स्वास्थ्यकर्मीले बिरामी विद्यार्थीको उपचार गरेका हुन् ।

स्वास्थ्य चौकी पीपलका अहेव खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरिरहेको बताइएको छ । शर्माले विद्यार्थीमा मास हिस्टेरियाको लक्षण देखिएको र उपचार भइरहेको बताउनुभयो । उनले २ जना छात्र र १८ जना छात्राले उपचार गराइरहेको बताए ।

सुरुमा १३ गते केही विद्यार्थीमा यस्तो लक्षण देखिए पनि बुधबारसम्म बिरामी विद्यार्थीहरुको संख्या बढ्दै गएकाले बिहीबारबाट केही दिनका लागि विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्