दशरथ रंगशाला स्तरोन्नति गर्न १० करोड बजेट

काठमाडौं । सरकारले दशरथ रंगशालाको मर्मतसम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कबर्डहलहरूको मर्मत सम्हार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

मन्त्री विश्वक्रर्माले खेलाडीहरूको सेवा र सुविधाका लागि सरकारले दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पारेका छन् । मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताए ।

उनले संघीय ढाँचा अनुकूल हुनेगरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताए। युवा तथा खेलकुद मन्त्रालयले १२ वर्षे खेलकुद गुरुयोजना पनि तयार पारेको छ । मन्त्री विश्वकर्माले बजेट निर्माणको काममा केन्द्रित हुनु परेकाले राष्ट्रिय खेलकुद नीतिको मस्यौदालाई अन्तिम रुप दिन नसकिएको पनि स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको बताए । त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम संचालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम संचालन कार्यविधि स्विकृत गरिएको पनि उल्लेख गरेको छ । मन्त्री विश्वकर्माले १३ औँ दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई पनि तीव्रता दिइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्