कैदी बन्दीहरुलाई टीभी र धार्मिक पुस्तक प्रदान

दैलेख । कारागारका कैदी बन्दीहरुका लागि दैलेख उद्योग बाणिज्य संघले १ थान टेलिभिजन प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा बुधवार जिल्ला कारागारमा आयोजित एक औपचारिक कार्यक्रमवीच दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने र दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले संयुक्त रुपमा हस्तान्तरण गरे ।

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेख कारागारका कैदी बन्दीहरुका लागि कानूनी र धार्मिक पुस्तक उपलब्ध गराएको छ । गत महिना कारागार अनुगमनको क्रममा क्षेत्रीय प्रमुख भोला महतसंग कैदी बन्दीहरुले माग गरेका अनुसार इन्सेकले ती पुस्तक पठाएको हो ।

कैदी बन्दीहरुले माग गरेका नेपालको संविधान, रामायण र महाभारत समेत ३ थान पुस्तक प्रमुख जिल्ला अधिकारी न्यौपानेले दैलेख कारागार सुधार केन्द्र पुस्तकालयका कैदी लाइब्रेइन भक्तबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपाने, डीएसपी सरोज पौडेल, जेलर जीतबहादुर खत्री, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक लगायत संघका पदाधिकारी, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, पत्रकार तीर्थ भण्डारीको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्