नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाए : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले यो बजेटले हरेक नागरिकको अनुहार चिन्न सकेको भन्दै अहिलेको बजेटका धेरैजसो कुरा पहिलेका बजेटसँग तुलना नै गर्न नमिल्ने बताए । युवा स्वरोजगार, स्वदेशी उद्योगलाई सहुलियत र राहत, सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, धनी वर्गको आयकर बढाउने, पूर्वाधारमा ठूला योजनाको थालनी गर्नेलगायतका सुधारका काम बजेटमा समेटिएको भन्दै खतिवडाले पहिले जस्तो बजेट पढ्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरिने पनि जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपाती आयोजना र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पूर्णता, नियमित विद्युत आपुर्ति, खानीजन्य उत्पादनको वृद्धि, औद्योगिक क्षेत्रमा १२ प्रतिशत वृद्धि, सेवा क्षेत्रमा साढे ५ प्रतिशत र कृषिमा साढे ४ प्रतिशत वृद्धि गरेर ८ प्रतिशतको आर्थिक वृद्धि पूरा गरेरै छाड्ने दावी समेत गरे ।

पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले ‘आर्थिक वृद्धि ८ प्रतिशत र्पुयाएमा रामशरण महत असफल, युवराज खतिवडा सफल मन्त्री भन्न तयार छु भन्नुभयो नि’ भन्ने एक पत्रकारको प्रश्नमा मन्त्री खतिवडाले भने, ‘उहाँ मैले सम्मान गर्ने मेरो टिचर पनि हो, डाक्टर महतलाई म असफल बनाउन चाहन्न, त्यसैले ८ नभनौँ ७ दशमलब ९ प्रतिशत वृद्धि भयो भने पनि म खुशी नै हुनेछ, बरु प्वाइन्ट वन भए पनि कम गर्नुपर्ला, किनभने दशकौँसम्म देशलाई नेतृत्व दिएको व्यक्तिलाई असफल बनाउन म चाहन्न, बरु एक प्वाइन्ट घटाउँला नै ।’

स्वदेशमा उद्योग गर्नेलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्ने भन्दै मन्त्री खतिवडाले बजेट कार्यान्वय र राजश्व असुलीमा सरकारले कडा नीति अपनाउने र करको दायराबाट कसैलाई छुटकारा नमिल्ने बताए । बुढिगण्डकी जलविद्युत आयोजनको जिम्मा कहिले यता कहिले उता दिने प्रक्रिया रोकेर सरकारले नै बनाउने भन्दै अर्थमन्त्री डाक्टर खतिवडाले अब ठुला भौतिक पुर्वाधारका क्षेत्रमा सरकारले सुधार गरेरै छाड्ने उनले दावि गरे ।

प्रतिक्रिया दिनुहोस्