माओवादी, रास्वपा र राप्रपाको फरक मत सहित संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित
काठमाडौं, ५ भदौ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।
यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।
शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् ।
माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ ।
माओवादीका सांसदहरू देवेन्द्र पौडेल, महेन्द्रराय यादव, रेशा शर्मा र ज्ञानु बस्नेत सुवेदीले फरक मत पेस गरेका हुन् ।
यसैगरी रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ । रास्वपाकी सांसद सुमना श्रेष्ठले विधेयकमा पार्टीको तर्फबाट फरक मत राखेकी हुन् ।
राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ । राप्रपाकी सांसद बिना जैसवालले पार्टीको तर्फबाट फरक मत पेस गरेकी हुन् ।
फरकमत सहित पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेस हुनेछ ।















प्रतिक्रिया दिनुहोस्