सन्दीप लामिछानेले ग्राउण्ड स्स्टाफका बालबच्चाहरूसँग गरे बर्थ डे सेलिब्रेसन, गरे ५० हजार सहयोग

काठमाडौं, १७ साउन। नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदान पुगेर त्यहाँ कार्यरत ग्राउण्ड स्टाफहरूसँग बर्थ डे सेलिब्रेसन गरेका छन् । उनी आजबाट २४ वर्ष पूरा गरि २५ औ वर्षमा प्रवेश गरेका छन् । गत वर्षहरुमा भन्दा उनले आज अलि पृथक तरिकाले आफ्नो जन्मदिन मनाएका हुन्।
त्रिविमा कार्यरत ग्राउण्ड स्स्टाफका बालबच्चाहरूसँग मिलेर उनले जन्मदिनको केक काटेका थिए ।

सन्दीपले आफ्नो जन्मदिनको खुशी साट्दै ग्राउन्ड स्टाफहरूलाई एकमुष्ट ५० हजार रूपैया सहायता पनि बितरण गरेका छन् । अघिल्ला बर्थडेहरूमा पनि उनले ग्राउण्डस्टाफहरूलाई आर्थिक सहयोग गर्ने गरेका भएपनि उनीहरुसँगै बर्थ डे सेलिब्रेसन भने गरेका थिएनन् । यो वर्ष भने पृथक रुपमा उनले बर्थ डे सेलिब्रेसन गरे ।

सन्दीप २०५७ साल साउन १७ गते स्याङ्जाको आरूचौरमा जन्मेका हुन् । उनी २०७३ सालदेखि नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेलिरहेका छन् ।

नेपालको राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ । सन्दीप भने व्यक्तिगत कारणले छुट्टि लिएर बसेका थिए । केही दिनदेखि उनी त्रिवि मैदानमा गएर नेट प्राक्टिस गर्न थालेका छन् ।

उनी दुई तीन दिनभित्र बन्द प्रशिक्षणमा सहभागी हुने बुझिएको छ । त्रिवि मैदान निर्माणाधीन रहेकाले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई मुलपानी मैदानमा अभ्यास गराइदै छ । यसले सन्दिप जति चर्चित छन् त्यत्तिकै सहयोगी र साधारण पन पनि उत्तिकै रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्