बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित
काठमाडौं, १५ साउन । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेश प्रमुख स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तभएको भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।
प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते विहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगत गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण बुधबार नगरी विहीबार गर्ने तय भएको थियो ।
संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।
तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।
लामा संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री बनेका हुन् । १६८ ९१० अनुसार एउटा दलको बहुमत नपुगेर सरकार नबनेपछि १६८ ९२० अनुसार उनी मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ ९२० मा ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने’ व्यवस्था छ । संविधानमा भएको यो व्यवस्थाअनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु नपर्ने तर्क लामाको छ ।
बुधबार संसदीय दलको नेता चुनिएपछि बानियाँले, लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट ‘राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने’ बताएका थिए ।
लामा र बानियाँबीच शक्ति संघर्ष चलिरहेका बेला मुख्यमन्त्री लामाले बानियाँ पक्षका चार जना मन्त्रीहरुलाई पदमुक्त गरेका थिए भने मंगलबार एक मन्त्रीले राजीनामा दिएका थिए ।
पाँच मन्त्रालय मन्त्रीविहीन बनेपछि लामाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरु गोविन्द लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनीहरु तीनैजना नेपाली कांग्रेसका हुन् । लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतकको जिम्मेवारीमा थिए । लम्साल धादिङका तथा गुरुङ र श्रेष्ठ चितवनका हुन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री लामाले नै सम्हालेका छन् ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेका छन् ।















प्रतिक्रिया दिनुहोस्