पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी अगाडि बढाउन गृहकार्य: ऊर्जा मन्त्री दिपक खड्का

काठमाडौं, १३ साउन। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी अगाडि बढाउन गृहकार्य भइरहेको बताएका छन् ।

प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताएका ह्ुन् ।

उनले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष भएपनि अघि नबढ्दा अहिलेसम्म नेपाललाई एक खर्ब घाटा व्यहोरिसकेको बताए ।
त्यसैले पञ्चेश्वर परियोजना लगायतका आयोजनाबारे दुईपक्षीय हितमा रहेर वार्ता गर्ने र प्रधानमन्त्रीको भारत भ्रमणका क्रमका पञ्चेश्वरमा नमिलेका विषय टुंग्याउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तयारी छ । नेपालको उर्जा क्षेत्रमा ठूलो सम्भावना भएपनि स्रोतसाधन, आर्थिक समस्या र कानुन अड्चनले पश्चिम सेती जस्ता महत्त्वपूर्ण परियोजना लामो समयदेखि अघि बढ्न नसकेको खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्