राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको गणतन्त्र दिवसको आयो यस्तो शुभकामना

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गर्नुभएको छ । उपराष्ट्रपति पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्व नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गर्नुभएको छ ।

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको योगदानको सम्मान गरिने बताउनुभएको छ । उहाँले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै हरेक नेपाली नागरिकले वास्तविक रुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र देशवासीमा आपसी सद्भावको वातावरण बनाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्