नागढुंगा–मुग्लिन सडकको सास्ती

काठमाडौं, ६ साउन। एक वर्षअघि नागढुंगा—मुग्लिन सडक खण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो र ठूलो मानवीय क्षति भयो । ३५ जनाले ज्यान गुमाए ।

देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडक निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडक खण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउँछन् । उनका अनुसार झ्याप्ले खोलाको पोहिरो पोहोर जुन बितण्डा निम्तायो, अहिले सडक निर्माणसँगै पहिरो रोकथामको काम तिब्र गतिमा भइरहेको छ ।

काममात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजी भइसकेको छ । देशलाई नै शोकमा पार्ने गरी दशकौंयता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो ।

निर्माण व्यवसायी घिमिरेका अनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरोस्वरुप लेदो भएर बग्यो। सडकमा कल्भर्ट थियो । लेदोलो कल्भर्ट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठूलो घटना घट्यो ।

स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठूलो पहिरो आएर धेरै क्षति गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठूलो पहिरो आएको होइन । सडक भन्दा केही माथि अव्यवस्थित तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताए। उनका अनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन ।

निर्माण व्यवसायी घिमिरेले भने– जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षति गर्‍यो। अहिले पुनः डिजाइन गरेर भित्ताहरुमा कडा चट्टान राखेर जाली भर्ने काम भइरहेको छ। अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभाग आसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुंगा—मुग्लिन सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरुले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउँछन्। उनका अनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडक खण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन् ।

आयोजना प्रमुख ओझाले भने– एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नौविसेदेखि मलेखु खण्डसम्म ४३.५ किमि छ । कुल ५५ किमिमध्ये हालसम्म करिब आधा अर्थात् २७ किमि पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । त्यसमा पर्ने १५ वटा पुलमध्ये आठ वटामा गाडी नै चल्न शुरु गरेका छन् । अब दुईवटा पुलमा छिट्टै गाडी चल्लेसम्मको बन्नेछ । बाँकी ५ वटा पुल चालु आर्थिक वर्षसम्म पूरा हुनेछन् ।

उनका अनुसार सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमिमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ । पहिलो प्याकेजको करिव ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ ।

यो आयोजना अन्तर्गत डेडिकेटेडड डबल लेनको सडक बन्दैछ । यसका कतिपय खण्डमा बिस्तारै हिँड्ने सबारीका लागि छुट्टै क्लाइमिन लेन थपेर तीन लेनको बन्नेछ । जसमा उकालोतर्फ जाने २ लेनमा जानेछन् भने ओरालोतर्फ झर्ने १ लेनमा सबारी झर्नेछन् ।

त्यस्तै बजार क्षेत्रमा चारलेन देखि ६ लेनको सडक बन्दैछ । गल्छी–बैरेनी एरियामा एकदमै पानीहरु पर्ने र खाल्डो पर्ने समस्या छ । समस्या मात्रै आइरहने स्थान थियो । पछिल्लो हिउँददेखि नै यसमा युद्धस्तरमा काम भयो । अहिले हिलो र धुलोबाट मुक्त हुने अवस्था छ । यद्यपी केही कामहरु बाँकी रहेका छन् । दोहोरो गाडी हिँड्न सक्ने भइसकेको छ ।

अबको बर्खामा यात्रुहरुले हिलो खेप्नु नपर्ने निर्माणकर्ताको दाबी छ । गत मनसुनका घटनाले सडकमा क्षति पुगेको र त्यस ठाउँमा पहिरो रोकथाम गर्न नयाँ प्रविधिहरु ल्याएर काम भइरहेको घिमिरले बताए।

मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्ने गरी काम भइरहेको छ ।

अहिले दैनिक १५ हजारभन्दा बढी सबारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधिन सडकमै परेको छ ।

दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्