गाडी आयात एक खर्ब नाघ्यो, कुल वस्तु निर्यातमा रेकर्ड
काठमाडौं, ६ साउन। नेपालमा सवारीसाधनको आयातले एक खर्बको आँकडा पार गरेको छ। विद्युतीय गाडीको आयात बढेसँगै गत आर्थिक वर्षमा १ खर्ब ९ अर्ब रुपैयाँको सवारीसाधन आयात भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार सवारीसाधन, स्पेयर पार्टस् लगायतको कुल आयात खर्ब रुपैयाँ नाघेको छ। यसअघि आर्थिक वर्ष २०७८–७९ मा सवारीसाधनको आयात ९९ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो। उक्त वर्ष यो क्षेत्रबाट ९० अर्ब रुपैयाँ राजस्व उठेको छ। तर, गत आर्थिक वर्ष १ खर्बभन्दा बढीको आयात भए पनि ८० अर्ब रुपैयाँमात्रै राजस्व संकलन भएको छ।
भन्सारका अधिकृतहरुका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय सवारीको भन्सार कम भएकाले आयात बढे पनि राजस्व संकलन कम भएको हो।
नेपालमा एक वर्षमा १८ हजार ५४१ निजी चारपांग्रे सवारीसाधन भित्रिएका छन्। विद्युतीय र पेट्रोलियम गरी यो संख्यामा सवारीसाधन भित्रिएका हुन्।
अटो व्यवसायीले सवारीसाधनको व्यवसाय घटेको बताइरहे पनि भन्सार विभागको तथ्यांकले गाडीको आयात अघिल्ला वर्षहरुको तुलनामा ह्वात्तै बढेको देखाउँछ। यसअघि सबैभन्दा बढी आर्थिक वर्ष २०७८–७९ मा पेट्रोलियमबाट चल्ने सवारीसाधन १५ हजार ७४ वटा आयात भएका थिए। त्यसबेला १८ सय ७ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए भने कुल १६ हजार ८८१ सवारीसाधन भित्रिएका थिए।
भन्सार विभागका निर्देशक किशोर बर्तौलाले एक खर्बभन्दा बढीको सवारीसाधन आयात हुनुमा विद्युतीय गाडीकै कारण भएको बताए । ‘डिजेल–पेट्रोल गाडीको तुलनामा अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको मूल्य बढी छ। नेपालमा विद्युतीय गाडीकै आयात बढ्दा एक खर्ब बढिको आयात भएको हो,’ बर्तौलाले भने, ‘सरकारले विद्युतीय गाडीको कर पेट्रोलियमको तुलनामा कम गरेका कारण राजस्व भने धेरै बढेको छैन।’
गत वर्ष नेपालमा कुल १३ हजार ५७८ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसमा ५० किलोवाटसम्मका ४ हजार ७४१ छन् भने ५१ देखि १०० किलोवाटसम्मका ७ हजार ४३१ गाडी भित्रिएका छन्।
नेपालमा सबैभन्दा बढी गाडीको माग १०० किलोवाटसम्मको छ । ५० किलोवाटसम्मका गाडीलाई इन्ट्री लेभलको गाडीको रुपमा लिइन्छ भने ५० देखि १०० किलोवाटसम्मका गाडीलाई मिडियम रेञ्जका गाडीको रुपमा लिइन्छ।
१०० देखि २०० किलोवाटसम्मका १३ सय ६२ सवारीसाधन भित्रिएका छन्। २०० किलोवाट माथिका ४४ वटा सवारीसाधन नेपालमा भित्रिएका छन्। नेपालमा प्रिमियम गाडीको रुपमा १०० किलोवाट माथिका गाडीमा कर लाग्दै आएको छ।
सरकारले वैदेशिक मुद्रा सञ्चितीमा चाप परेको भन्दै डिजेल–पेट्रोलका गाडी आयातमा कडाइ गरेको थियो। त्यसका बाबजुद गत आर्थिक वर्ष करिब ५ हजार गाडी भित्रिएका छन्। अघिल्ला वर्षको तुलनामा पेट्रोल र डिजेलका गाडीको आयात बढेको छ। आइस इन्जिनका प्यासेन्जर भेहिकल ४ हजार ९६३ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सार्वजनिक यातायात र निजी संस्थाहरुले प्रयोग गर्ने ११ सिट माथीका विद्युतीय बस ३ हजार १०६ वटा भित्रिएका छन्। डिजेलबाट चल्ने बसको संख्या ११ सय ६९ रहेको छ।
कोभिड महामारीपछि घटेको अटो बजार गत आर्थिक वर्षदेखि रिभाइभ भएको छ। दुईपांग्रे सवारीसाधन २ लाख १ हजार वटा भित्रिएका छन्। विद्युतीय दुईपांग्रे ११ हजार ३१८ वटा भित्रिएका छन्। यसअघि आर्थिक वर्ष २०७७–७८ मा दुईपांग्रे सवारीसाधन सबैभन्दा बढी भित्रिएका थिए। उक्त वर्ष ३ लाख ५३ हजार सवारीसाधन भित्रिएका थिए।
आर्थिक गतिविधि कम भएसँगै घटेको दुईपांग्रेको बजारले विस्तारै लय समाएको छ। सामान्य अवस्थामा साढे दुई लाखदेखि ३ लाखसम्म वार्षिक बिक्री हुने बजार रहेको व्यवसायी बताउँछन्। पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै गत आर्थिक वर्ष केही बिक्री बढे पनि सामान्य अवस्थामा नफर्किएको उनीहरुको दाबी छ।
निर्यातमा रेकर्ड, व्यापार घाटा १५ खर्ब २७ अर्ब नाघ्यो
नेपालको वैदेशिक व्यापार घाटा आर्थिक वर्ष २०८१।८२ मा १५ खर्ब २७ अर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनमा १ खर्बभन्दा बढीले वृद्धि भएको हो ।
नेपालको वैदेशिक व्यापार घाटा २०८०।८१ मा १४ खर्ब ४० अर्ब रहेकोमा २०८१।८२ मा १५ खर्ब २७ अर्ब पुगेको हो । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको छ ।
नेपालले खासगरी, भारत, चीन लगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ । परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।
नेपालले २०८१।८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।
यस्तै, निर्यात वृद्धिले भने रेकर्ड तोडेको छ । २०८१।८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आवको तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो । अघिल्लो आव २०८०।८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्