कारोबार रकम करिब ११ महिनायताकै उच्च, नयाँ आर्थिक वर्षको पहिलो कारोबार परिसूचक उच्च अंक बढेर बन्द, बजार हरियाली, लगानीकर्तामा खुशीयाली

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

साउन १ गते, बिहीबार नेप्से परिसूचक ७५।८४ अंक बढेर २८७०।६३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११।२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५।०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।७९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १४ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ४१ हजार ४३४ पटकको कारोबारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ११ महिनायताकै उच्च हो। यस अघि गत भदौ ११ गते साढे १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिनको कारोबार रकम नै बढी हो।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७।५८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५।०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्