सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी
काठमाडौं, ३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको छ ।
घुस ‘डिल’ को अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पदमुक्त गर्ने तयारी भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा जानकारी लिएर उनलाई आजै हटाउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो ।
स्रोतका अनुसार यसबारे प्रधानमन्त्रीज्यूले मन्त्रीबाट विस्तृत ब्रिफिङ लिनुहुनेछ । संलग्न विभिन्न व्यक्तिका नाम पनि आइरहेका छन् । राजीनामा गरेर मार्ग प्रशस्त गर्न भनिनेछ । नभए बर्खास्त नै हुनेछ ।’
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइएको छ । साथै, मन्त्री गुप्ता पदमुक्त गराएसँगै यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने भएको छ ।
केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।
यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ । यस्ता प्रकरणले गर्दा सरकालाई नै बदनाम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्