पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन
काठमाडौं, २९ असार। पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।
शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।
उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।
उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।
शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव छ।
उनले काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन्। विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसङ्घमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेको अनुभव संगालेकी थिइन् ।
उनले व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा समेत एक दशकभन्दा बढी योगदान दिएकी थिइन्।
शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिने पारिवारिक स्रोचले जनाएको छ । उनका दुई छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्