ब्याजदरको मनपरी अभ्यास अन्त्य गर्ने निर्णय, लघुवित्त कर्जामा स्पष्ट सीमा तोकियो

काठमाडौं, २७ असार । अब लघुवित्त संस्थाले ऋणमा निर्धारण गर्ने ब्याजदर आधार दरमा जोडिने छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ब्याजदर निर्धारणमा नयाँ मापदण्ड ल्याएको हो, जसले मनपरी ब्याजदरको अभ्यास अन्त्य गर्नेछ।

पुराना ऋणमा के लागू हुन्छ?
साउन १ गते (२०८२।०४।०१) अघि प्रवाह भएका कर्जामा लघुवित्तले अधिकतम १५ प्रतिशत ब्याजदर मात्र लिन पाउनेछन्।

नयाँ ऋणमा अब कस्तो नियम?
साउन १ पछि प्रवाह हुने कर्जामा ब्याजदर निम्नानुसार निर्धारण गरिनुपर्नेछः

आधार दरमा आधारित ब्याजदरः
कर्जाको ब्याज अनुसूची १४.१ अनुसार गणना गरिएको आफ्नै आधार दरसँग जोडिनुपर्नेछ।

अधिकतम ३ प्रतिशत प्रिमियम मात्रः
आधार दरमा बढीमा ३ प्रतिशतसम्म प्रिमियम थप्न पाइनेछ, जुन त्रैमासिकरूपमा पुनरावलोकन गरिनुपर्नेछ। यसमा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आधार मानिनेछ।

ब्याजदरको सीमा पनि तोकिएको छ
लघुवित्तले निर्धारण गर्ने ब्याजदर वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दु थप गर्दा आउने दरभन्दा बढी हुन नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ।

यसले दुईवटा सीमा तय गर्छः

आफ्नै आधार दर ३ प्रतिशत प्रिमियम

वाणिज्य बैंकको औसत आधार दर ९ प्रतिशत बिन्दु

यीमध्ये जुन दर कम हुन्छ, त्यही दरलाई अधिकतम सीमा मानेर लघुवित्तले ब्याजदर निर्धारण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्