मौद्रिक नीतिः घर कर्जाको सीमा तथा शेयर धितो कर्जाको सीमामा वृद्धि

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति मार्फत यस्तो सीमा बढाएको हो ।

त्यस्तै, मौद्रिक नीतिले ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्‍याइनेछ ।’

त्यसैगरी, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए । साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जा नोक्सानी व्यवस्थालाई पनि आवश्यकता अनुसार पुनरवलोकन गरिने भएको छ । यसका साथै तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्