एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको कम्पनी

काठमाडौं,२६ असार । अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुग्ने विश्वकै पहिलो कम्पनी बनेको छ । बुधवारको कारोबारमा कम्पनीको सेयर मूल्य २.५ प्रतिशतले बढ्दै १६४ डलरको ऐतिहासिक उचाइमा पुगेसँगै यो कीर्तिमान कायम भएको हो ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो मागका कारण एनभिडियाको सेयरमा उल्लेखनीय उछाल देखिएको हो । कम्पनीको बजार पूँजीकरणले अब एप्पल र माइक्रोसफ्ट जस्ता अमेरिकी प्रविधि दिग्गजहरूलाई पनि पछि पारेको छ ।

सन् २०२३ को जुन महिनामा एनभिडियाले पहिलो पटक १ ट्रिलियन डलरको बजार मूल्य छोएको थियो । एक वर्षमै त्यो मूल्य तीन गुणाले वृद्धि भएको हो, जुन एप्पल र माइक्रोसफ्टले भन्दा छिटो समयमै भएको उल्लेखनीय उपलब्धि हो ।

हाल माइक्रोसफ्टको बजार मूल्य ३.७५ ट्रिलियन डलर रहेको छ भने एप्पल करिब ३.६ ट्रिलियन डलरमा सीमित छ ।

एनभिडियाको बजार मूल्य हाल क्यानडा र मेक्सिकोको संयुक्त सेयर बजार मूल्यभन्दा पनि बढी छ, र बेलायतका सम्पूर्ण सार्वजनिक सूचीमा रहेका कम्पनीहरूको कुल मूल्यभन्दा समेत उच्च रहेकोे तथ्यांकले देखाएको छ ।

एनभिडियाले पहिलो त्रैमासिकमा ४४.१ अर्ब डलर आम्दानी गर्दै ८१ सेन्ट नाफा प्रतिशेयर कमाएको थियो । दोस्रो त्रैमासिकमा कम्पनीले ४५ अर्ब डलर आम्दानी हुने अनुमान सार्वजनिक गरिसकेको छ। यस वर्ष मात्रै एनभिडियाको सेयर मूल्य २२ प्रतिशतले वृद्धि भएको छ, जुन फिलाडेल्फिया सेमिकन्डक्टर सूचकांकको १५ प्रतिशत वृद्धिभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस्