प्रधानमन्त्री ओलीले हुम्ला च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरे, सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिए

काठमाडौं, २२ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

योसँगै सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको हो ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका छन् । यसले भौतिक पुर्वाधारसँगै व्यपार आगमनलाई सहजता ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्