तारकेश्वर नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षकलाई सम्मान

काठमाडौं, २२ असार । काठमाडौंको तारकेश्वर नगरपालिकाले १४औं राष्ट्रपति रनिङ शिल्डमा राम्रो प्रदर्शन गर्ने आफ्ना नगरभित्रका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ।

विशेष गरी खेलकुद र शिक्षालाई मुल लक्ष्य बनाउँदै आएको तारकेश्वर नगरपालिकाले टुसाल मल्टिभेन्युमा आयोजित एक कार्यक्रममा खेलाडी र प्रशिक्षक गरी कुल १४३ जनालाई नगद र सम्मानपत्रसहित सम्मान गरेको हो।

गत १४औं राष्ट्रपति रनिङ शिल्ड काठमाडौं जिल्लास्तरीय प्रतियोगितामा तारकेश्वरका खेलाडीहरूले ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक गरी कुल ८३ पदक जितेको थियो । खेल र खेलाडीलाई उत्साहित र उर्जा थप्नको निमित्त यो सम्मान गरिएको नगरप्रमुख कृष्णहरि महर्जनले बताए । तारकेश्वरको मुल लक्ष्य खेलाडी उत्पादन र गुणस्तरीय शिक्षामा जोड दिएको बताउँदै यसको परिणाम स्वरुप आज शिक्षा र खेल क्षेत्रमा तारकेश्वर अग्रस्थानमा आएको दावी गरे ।

यस्तै नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले खेलाडीको मेहनत र पालिकाको उर्जाका कारण राष्ट्रपति रनिङ शिल्ड काठमाडौं जिल्लास्तरीय प्रतियोगितामा तारकेश्वर नगरपालिकाले सफलता प्राप्त गरेको बताए ।

सोही सफलता दिलाउने खेलाडी र प्रशिक्षकलाई तारकेश्वर नगरपालिकाले नगदसहित सम्मान गरेको हो। स्वर्ण विजेताले पाँच हजार, रजत विजेताले तीन हजार र कांस्य पदक विजेताले दुई हजार रूपैयाँ पुरस्कार पाए।

साथै उनीहरूका प्रशिक्षकलाई भने नगद चार हजार रूपैयाँसहित सम्मान गरिएको नगर प्रवक्ता तथा वडा–२ का अध्यक्ष राधाकृष्ण खड्गीले जानकारी दिए। उनीहरूलाई नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र नगर प्रवक्ता तथा वडा–२ का अध्यक्ष राधाकृष्ण खड्गीले सम्मान गरेका हुन्। सो अवसरमा नगर प्रमुख महर्जनले नगरपालिकाभित्र स्थायीय बसोबास गर्ने उत्कृष्ट एक जना खेलाडीलाई चौथो या पाँचौं तह बराबरको सेवासुविधा दिने गरी नगरपालिको खेल एम्बेसडरमा नियुक्त गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्