पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर अपराध मुद्दा दर्ता

काठमाडौं,१६ असार । पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध आज मुद्दा दर्ता गरेको सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

नेपाल प्रहरीको साइबर ब्युरोले असार १३ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पत्रकार पाठकलाई पक्राउबिनै मुद्दा दर्ता गरिएको हो ।

गत जेठ २८ गते पत्रकार पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए ।

उनले युट्युब मार्फत सो रिपोर्ट प्रसारण गरिएको भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो ।

असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो । पत्रकारले सम्प्रेषण गरेका सामग्रीबारे प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा पाठकमाथि अनुसन्धान गर्नु नपर्ने उच्च अदालतले भनेको थियो ।

त्यसअघि असार २ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। पत्रकार पाठकविरूद्ध कसले उजुरी दिएको हो भन्ने खुलेको छैन । अभियोग पत्रमा उजुरी दिनेको परिवर्तित नाम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्