आफ्नै घरमा बस्ने बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

काठमाडौं । पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गएको वर्ष जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेको थियो ।

अदालतले उनलाई जबरजस्ती करणी अपराधमा ६ वर्ष कैद र हाडनाता करणीमा थप १ वर्ष कैद गरी जम्मा ७ वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्