स्थानीय तहमा असारसम्म दरबन्दी अनुसार सबै कर्मचारी खटाइने

काठमाडौँ । सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ।

अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिब ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो। यसअघि खटाइएका कर्मचारी पनि स्थानीय तहमा नगएकाले तिनलाई पनि खटाइने उनले बताए।

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ। अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको छ।

“हामीले माग गरेअनुसारको कर्मचारी विभिन्न मन्त्रालयबाट आउने क्रम जारी छ”–उनले भने, “आएका कर्मचारीलाई हामीले क्रमश पठाउँदै पनि छौँ।”

संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्