मदन भण्डारीको ७४औँ जन्मजयन्ती, जबजको बहस र नेतृत्व
काठमाडौं, १४ असार । आज तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती वभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसै सन्दर्भ एमालेजनले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दैछन् ।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार हुने विशेष कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।
एमालेमा ७० वर्षे उमेर हद, दुई वर्षे कार्यकाल र विद्या भण्डारीको सक्रिय राजनीतिमा आउने सम्भावनाको चर्चा भइरहेका बेला मदन भण्डारीको जन्मजयन्तीका अवसरमा हुन लागेको यो कार्यक्रम अनि नेताद्धय ओली र भण्डारीको उपस्थितिका साथै उनीहरुले कार्यक्रममा दिन सक्ने सन्देशलाई लिएर एमाले नेता कार्यकर्ताहरूले निकै चासोका साथ हेरेका छन् । यसले पार्टी नेता तथा कार्यकर्तालाई नयाँ अध्यायकोे सुरु हुने आकांक्षा पनि लिएको छ ।
यहीँ कार्यक्रमको पूर्वसन्ध्यामा स्व। मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राख्दै ‘जनताको बहुदलीय जनवाद, मदनको नीति विद्याको नेतृत्व’ लेखिएको पोस्टर सार्वजनिक भएको छ । जसलाई विद्या भण्डारी निकटस्थहरूले सामाजिक सञ्जालमा महत्त्व दिएर प्रचारप्रसार गरिरहेका छन् ।
विद्या भण्डारी निकटस्थ एमाले कार्यकर्ताले राष्ट्रिय सभागृहमा आज हुने कार्यक्रमबाटै विद्याले सक्रिय राजनीतिमा आउने सन्देश दिन लागेको प्रचार मात्र गरेका छैनन्, भावी अध्यक्षकै रूपमा अघि सारेका छन् । तर एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम त्यस्तो तयारीबारे आफूलाई केही थाहा नभएको बताउँछन् ।
‘मदनको नीति विद्याको नेतृत्व’ भनेर सार्वजनिक गरिएको उक्त पोस्टर एमाले पार्टीले कुनै आधिकारिक ढङ्गले नगरेको गौतमको भनाइ छ । ‘पार्टीमा इन्डोर्स नै नभएको विषयमा कसले के सार्वजनिक गर्छ त्यसको पछि लागेर साध्य पनि छैन । त्यसलाई आधिकारिक मान्ने त कुरै भएन’, गौतमको प्रतिक्रिया छ ।
मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरणको प्रक्रियामा अगाडि बढाउने नवीन विचारक मानिन्छन् । ‘हामी मदनलाई नेपाली माटोमा मार्क्सवादको नयाँ प्रयोग गर्ने पहिलो व्यक्तिका रूपमा लिन्छौ । जसले जनताको बहुदलीय जनवादको सिद्धान्त र कार्यक्रम प्रतिपादन गर्नुभएको छ’, गौतमले भने, ‘त्यही नेताको नेतृत्वबाट बनेको नीतिबाट नै अहिले नेकपा एमाले क्रियाशील छ ।’
३७ वर्षको उमेरमै पार्टीको नेतृत्व सम्हाल्न पुगेका भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा रहस्यमय निधन भएको थियो । निकै छोटो समय पार्टी नेतृत्व र सार्वजनिक जीवन बिताएका मदनले नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा भने लामो प्रभाव छाडेका छन् । यसले पार्टीलाई जिवन्त राख्न मद्दत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्