दलितको हातको पानी खाँदा गाउँ निकाला!
काठमाडौं । जिल्लाको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् ।
वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केही वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२, नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ । स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गरे ।
सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातको पानी खाँदा आफ्नो दम्पती र नातिनातिनीसमेत गाउँबाट लखेटिएको बुढाले बताए ।
दलितसँग सम्बन्ध राखेको भन्दै गाउँलेले कुटपिट गरी सामाजिक रुपमा अलग्याएको दम्पतीले बताएका छन् । गाउँलेबाट लेखेटिएपछि बुढा दम्पती जंगलको नजिकै एक सानो छाप्रो बनाएर बस्दै आएका छन् ।
आफूहरुलाई आफ्ना छोराले भेटेमा समेत उनीहरुलाई गाउँलेले कुटपिट गर्ने गरेको बुढाले बताए । गाउँमा गएका थाहा पाएमा गाउँलेले धम्की दिँदै गाउँमा नआऊ भन्दै लखेट्ने गरेका छन् । बुढाका दम्पतीले नातिनातिनीलाई आफैँसँग राखेर निजी विद्यालयमा पढाउने गरेका छन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतीका परिवारलाई दुःख दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
अहिलेको युगमा पनि कुसंस्कार गर्ने जो कोहीलाई छुट नभएकाले यसका बारेमा यथार्थ बुझेर कारबाही गर्ने मल्लको भनाइ छ ।
गाउँपालिका अध्यक्ष मल्लले सोही वडाका वडा सदस्य वाचलाल बुढालाई गाउँमै यो समस्या मिलाएर दम्पतीलाई स–सम्मान गाउँको सामाजिक कार्यमा समावेश गर्न आग्रह गरे ।रासस
प्रतिक्रिया दिनुहोस्