१७ वर्षदेखिको सिन्डिकेट तोडियो, रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधै माइक्रोबस

काठमाडौं।आजबाट ललितपुरको गोदावरी देखि रत्नपार्कसम्म सिधै माइक्रोबस सञ्चालनमा आएको छ ।

यो क्षेत्रका लागि ७० वटा माइक्रोबसले रुट परमिट लिएपनि कसैले सञ्चालन नगरेपछि यसमा कडाई गरेको जिल्ला टाफिक प्रहरी कार्यालयका प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

१७ वर्षदेखि रुट परमिट लिएर पनि माइक्रोबसले गोदावरी देखि रत्नपार्कसम्म सञ्चालन गर्नुपर्नेमा गोदावरी देखि लगनखेल र लगनखेलदेखि रत्नपार्कसम्म गरी छुटटा–छुट्टै सेवा दिइरहेका थिए ।

अब १७ वर्षदेखिको सिन्डिकेट अन्त्य भएको छ भने, यसलाई कार्यान्वयन नगर्ने सञ्चालकलाई ५ हजारको जरिवाना तत्काल लिने पनि हाछेथुले बताएका छन् ।

गोदावरीदेखि रत्नपार्कसम्म माइक्रोबसले यात्रुसंग ३५ रुपैया मात्र लिन पाउने र त्यो भन्दा बढि दिएमा कारबाही हुने पनि उनले बताए ।

अहिले माइक्रोबस चालकले रत्नपार्कदेखि लगनखेलसम्म १७ रुपैया र लगनखेल देखि गोदाबरीसम्म २५ रुपैया लिने गरेको छ ।

यसलाई जोड्दा उनीहरुले प्रत्येकसंग ४२ रुपैया लिने गरेको पाइएको छ । प्रत्येक यात्रुसंग ७ रुपैयासम्म बढी लिने गरेको पाइएको छ ।

तर अब यो रुटमा रत्नपार्कदेखि गोदावरीसम्म ३५ रुपैया मात्र लिन पाउनेछ । यो रुटमा चल्ने माइक्रोबसहरुले यसलाई कार्यान्वयन नगरेमा वा बढी भाडादर लिएमा यात्रुहरुले १०३ वा ११०३ मा फोन गरेमा तत्काल कारबाही हुनेछ । अब भने यात्रुलाई सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्