इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं,३० जेष्ठ । इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा वृद्धि भएको छ । मध्यपूर्वमा तनाव तीव्र बनेपछि शुक्रबार तेलको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको रोयटर्सले लेखेको छ । यससँगै, कच्चा तेलको भाउ करिब ५ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

इजरायलको आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा बाधा पुग्ने चिन्ता थपिएको छ । शुक्रबार बिहानसम्ममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड फ्युचर्स ६.२९ डलर अर्थात ९.०७ प्रतिशतले बढेर प्रतिब्यारेल ७५.६५ डलर पुगेको छ । इन्ट्राडे कारोबारमा यो ७८.५० डलरसम्म पुगेको थियो । जुन गत जनवरी २७ यताकै सबैभन्दा उच्च हो ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई) क्रुड पनि ६.४३ डलर अर्थात ९.४५ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.४७ डलरमा पुगेको थियो । इन्ट्राडेमा जनवरी २१ यताकै सबैभन्दा उच्च अर्थात ७७.६२ डलरसम्म पुगेको थियो । कच्चा तेलको भाउमा शुक्रबारको वृद्धि सन् २०२२ यताकै सबैभन्दा ठूलो इन्ट्राडे मा बढेको हो ।

सन् २०२२ मा भने रुसले युक्रेनमाथि आक्रमण गरेपछि उर्जा मूल्यहरु तीव्र रुपमा माथि उक्लिएका थिए । इजरायलले शुक्रबार इरानका आणविक केन्द्रहरु, ब्यालिस्टिक मिसाइल कारखानाहरु र सैन्य कमाण्डरहरुलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । यससँगै इजरायलले तेहरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नका लागि दीर्घकालीन अभियान सुरु गरिएको चेतावनी पनि दिएको छ ।

सिंगापुरका कैयौं तेल व्यापारीहरुले यो आक्रमणले मध्यपूर्वको तेल आपूर्तिमा असर गर्छ कि पर्दैन भन्नका लागि अहिले नै छिटो हुने बताएका छन् । आपूर्तिमा असर पर्ने कुरा इरानले कसरी प्रतिकार गर्छ र अमेरिकाले हस्तक्षेप गर्छ कि गर्दैन भन्ने कुराले निर्भर गर्छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्