नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : महासंघका अध्यक्ष चन्द्र ढकाल

काठमाडौं,१७ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्नेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुुन् ।

नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ ।

राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैं सरकारको साथमा रहेको उनले बताए ।

अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बजेटमा आएका कुराहरूलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि उनले बताए ।

उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ थियो ।

यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुदाँ यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।

बजेट मार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्वार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।

यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्