सरकारले सार्वजनिक संस्थानबाट पाउने लाभांश वर्षेनी घट्दै

१५ जेठ, काठमाडौं । सार्वजनिक संस्थानबाट सरकारले पाउने गत वर्षको लाभांश ३५ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा सरकारले सार्वजनिक संस्थानबाट १३ अर्ब ७५ करोड लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड पाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार लाभांश ३५ प्रतिशत घटेको देखिको हो । सरकारसंग रहेका संस्थानमध्ये २८ वटा नाफामा रहेका, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

नाफामा रहेका संस्थानहरूको मात्रै खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ । त्यस्तै नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी आर्थिक वर्ष २०८०.८१ मा ३ अर्ब ६३ करोड रहेको छ । नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८‍.६५ प्रतिशतले बढेको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ ।

पछिल्लो तथ्याँक अनुसार सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्