शिक्षा विधेयक टुंगोमा पुर्याउन गम्भीर छुः शिक्षामन्त्री पन्त
काठमाडौं, ७ जेष्ठ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० टुंगोमा पुर्याउन आफू गम्भीर रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा मन्त्री पन्तले निरन्तर छलफल गरेर विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउन आफू गम्भीर रहेको बताएका हुन् ।
विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुंगोमा पुराउने गरेर छलफल अघि बढाउन सुझाव दिए ।
समिति सभापति अम्बरबहादुर थापाले १५ जेठमा बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुराउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरेर चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने बताए ।
यसअघि उपसमितिले विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्